Tribikram Karmacharya

कान्ति बाल अस्पताल र मेरो बिचार ः

त्रिविक्रम कर्माचार्य

अध्यक्ष, कान्ति बाल अस्पताल विकास समिति

मानिसको श्रृष्टिको प्रारम्भको साथ साथै मानवीय स्वास्थ्यको हेरविचार तथा स्वास्थ्य उपचारमा पनि सँगसँगै विकास भएको देखिन्छ । मानव विकास क्रममा जंगली युग देखि हाल सम्म पनि मानिसलाई लाग्ने रोगहरुलाई विभिन्न देवी देवता तथा भूत प्रेतको कुदृष्टि बाट आफुलाई रोग लागेको भावना मानिसहरुमा रहदै आएको छ । आजको बैज्ञानिक तरिकाबाट स्वास्थ्य उपचार हुने पद्धतीको विकास भई सकेको अवस्थामा पनि हाम्रो देशको अधिकाँश स्थान तथा जनताहरु केही पुरातन सोच र विचारमा रही आफ्नो अमुल्य जिवनलाई त्यसै खेर फालीरहेकाछन् । यी हुनाको कारणहरु मध्य हाम्रा गाउँ घरका दिदी बहिनी तथा दाजुभाईमा आर्थिक कमजोरीता नै मुख्य कारण भएका छन् । हुनत केही व्यक्तिहरु आर्थिक सम्पन्न भएता पनि तिनीहरुमा स्वास्थ्य उपचार तथा स्वास्थ्यको महत्व सम्बन्धी आवश्यक ज्ञान नभएको कारणले स्वास्थ्यमा खर्च गर्नु फजुल खर्चको रुपमा हेर्ने गर्दछन । जसले गर्दा विरामी हुँदा हाल उपलब्ध भएका बैज्ञानीक रुपमा विकास भएका औषधी उपचार गर्नु भन्दा धामी, झाक्री, झारफुक वैद्य कहाँ सस्तोमा उपचार गर्न जानु उपयुक्त ठान्छन । हुनत त्यस किसिमका उपचारले मनोवैज्ञानिक उपचार त होला तर भौतीक रुपमा शरीरको उपचार हुँदैन । अर्को एक थरी मानिसहरु आर्थिक कारणले ती अन्धविश्वासमा बाध्य भएर लागेका पनि छन् । किनकी देशमा जती जती विकासका क्रमहरु बढ्दै गए त्यतीकै मात्रामा मानिसहरुमा स्वार्थको भावना पनि बढ्दै गएको देखिन्छ । जसरी एउटा स्कुलका शिक्षकले आफ्नु छोरा वा छोरीलाई डाक्टर, इन्जीनियर तथा अन्य उत्कृष्ट व्यक्ति बनाउने इच्छा राखी सकेपछि त्यस शिक्षकले आफूले अध्यापन गर्ने स्कुलमा आफ्नु छोरा छोरीलाई पठन पाठनमा नलगाई महंगो फि तिरी निजी विद्यालयमा पठन पाठनको लागि भर्ना गरेको हुन्छ । यसले एक सरकारी विद्यालयमा हुने पठन पाठनको स्तर कस्तो हुन्छ भन्ने छर्लङ्ग देखिन्छ । निजी विद्यालय देखि डाक्टर बन्न सम्म एक डाक्टरले करिब ५० लाख खर्च गरिसकेको हुन्छ । यसरी डाक्टर भई आएका व्यक्तिले दिने सेवामा पनि आफ्ना बुबा आमाले खर्च गरेको रकम असुल गर्ने स्वार्थ हुनु स्वभाविक नै हो । यसो भन्नाले स्वास्थ्य उपचार महंगो हुनु स्वाभाविक हो भन्ने होइन, एक कल्याणकारी सरकारले स्तरीय शिक्षा तथा निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्नु त्यस देशका शासकहरुको मुख्य कर्तव्य हो ।

स्तरीय तथा निःशुल्क शिक्षा तथा स्वास्थ्य उपचार मानव अधिकारमा हुनु अति आवश्यक छ । तब मात्र एक सक्षम, निरोगी र योग्य नागरीक देशमा हुनेछ । हाम्रो देशमा कुल जनसंख्याको ३५ प्रतिशत जति १४ बर्ष मुनिका बाल बालिकाहरु छन् । जुन सम्पूर्ण जनसंख्याको ठूलो हिस्सा अंगालेको छ । यो जनसंख्या नै भोलीको नेपाल हाक्ने जनसंख्या हो । यिनीहरुको स्वास्थ्यमा कमजोरी हुनु, र अस्वस्थ हुनु भन्नु भोलीको नेपालाई कमजोर बनाउनु हो । यसै कारणले बालस्वास्थ्यको अति महत्व छ । स्वास्थ्य विरुवाले मात्र स्वास्थ्य फल दिन सकिन्छ । अन्यथा सो बिरुवा हुर्कन नपाउँदै अन्त हुन्छ ।

२०१९ सालमा तात्कालीन सोभियत संघको सहयोग मा ५० शैयाको जनरल अस्पतालको रुपमा स्थापना भई २०२६ साल देखि कान्ती बाल अस्पतालको नाममा बाल बालिकाहरुको स्वास्थ्य उपचार हुदै आएको छ । यो अस्पतालमा सर्वप्रथम २०४० साल मा कान्ती बाल अस्पताल विकास बोर्डको अध्ययन नियुक्त भई हाल सम्म १५ जना अध्यक्ष नियुक्त भई सकेको देखिन्छ । जुन मध्य यस लेखका लेखक २०६७÷०३÷२८ मा कान्ती बाल अस्पताल विकास बोर्डको अध्यक्ष नियुक्त भई सकेपछि मैले यस अस्पतालमा देखेका, भइरहेका र हुनुपर्ने केही मेरो विचारहरु यहाँ लेख्न चाहन्छु ।

यस कान्ती बाल अस्पताल नेपालको एक मात्र बालबालीका जुन जन्मीदा देखि १४ बर्ष सम्मका बिरामी बाल बालीकाहरुको उपचारको उद्देश्यले नेपाल सरकारद्धारा केन्द्रीय बाल अस्पतालको रुपमा संचालन भई रहेको छ आजको नेपाली जनसंख्याको एक तिहाई जनसंख्या ओगटेको बालबालीकाहरुको लागि जम्मा ३०० बेड सहित साधारण र विकास दुवै मिलाई जम्मा ५३६ जनाको दरबन्दीमा यस कान्ती बाल अस्पताल संचालन भई रहेको छ ।

यस अस्पतालको भौतीक साधन सम्बन्धमा काठमाण्डौ जिल्ला वडा नं. ३ महाराजगंञ्जमा करीब १०० रोपनी जग्गा, करिब ९००० वर्ग मिटर क्षेत्रफलको भवन, कर्मचारी आवाशको लागि करिब ७००० वर्ग मिटर क्षेत्रफलको भवन, चिकित्सक, नर्सिङ, पारामेडीकल निम्न स्तरका कर्मचारीलाई छुट्टा–छुट्टै भवन, बिरामी कुरुवा घर, मेडीकल, सर्जरी, आइ.सी.यू., ओ.पी.टी, इमरजेन्सी अब्जरभेसन, क्याबिन, औषधी पसल, औषधी पार्किङ र बगैंचा जस्ता सम्पूर्ण साधन श्रोत भएकाले यस अस्पताललाई हालको स्थितीलाई बढाएर लैजान सकिने अवस्था रहेको छ । तैपनि ती साधन र श्रोतको अधिकतम उपयोग गर्न नसकी अस्पताल आएको सम्पूर्ण विरामीहरुलाई उपचार सेवा दिन सकिेरहेको छैन । तसर्थ तात्कालीन र दीर्घकालीन गरी यस अस्पतालमा निम्न सुधार गर्न सकिएको अवस्थामा निश्चय पनि यस अस्पतालमा आएका बिरामी अन्य अस्पतालमा रिफर गर्नु नपर्ने देखिन्छ ।

क) तात्कालीन

१. हाल भई रहेको आइ.सी.यू. को बेड बढाएर आवश्यक उपकरणहरु उपलब्ध गराउने ।

२. हाल भई रहेको ३०० बेडलाई तात्कालीन २०० बेड थपी ५०० बेड बनाउने, सो लाई आवश्यक जनसक्ति तथा श्रोत साधनको व्यवस्था गर्ने ।

३. अस्पतालबाट नै औषधी खरिद गरी औषधीको निःशुल्क तथा शुल्क लिई वितरण गर्ने ।

४. प्राविधिक तथा अन्य कर्मचारीहरुमा आएको नैरास्यतालाई पत्तालगाई आवश्यक सुविधा, तालिम, पदोन्नती तथा अन्य कार्य गर्नुपर्ने ।

५. यो अस्पताल एक आफैले आय आर्जन गरी तलब भत्ता र अन्य मा खर्च गर्नुपर्ने, अर्को तर्फ नेपाल सरकारबाट प्राप्त दरबन्दीमा नेपाल सरकारबाटै तलब भत्ता र अन्य खर्च का लागी अनुदान प्राप्त हुने भएकाले यस अस्पतालका हरेक आर्थिक पारदर्शी हुनुपर्ने । जसले गर्दा कर्मचारीहरुलाई आर्थिक वृद्धि गर्न को साथ साथै स्तरीय सेवा दिन प्रेरक हुनेछ ।

ख) दीर्घकालीन कार्य गर्नुपर्ने

१. यस अस्पतालको लागि आवश्यक प्राविधिक डाक्टर तथा नर्सहरु तयार गर्न साधन र श्रोत भईकन हुन नसकेकोले नेपाल सरकारको अनुदानमा शिक्षण संस्था तयार गर्नुपर्ने ।

२. यस अस्पताल देशको एकमात्र केन्द्रिय बाल अस्पताल रहेकोले जनसंख्याको वृद्धिदरलाई दृष्टिगत गरी देशका अन्य सहरहरुमा यस अस्पतालको शाखा अस्पतालको रुपमा विकास गर्नुपर्ने ।